मैले एमालेबाट किन विद्रोह गरें?
-नहेन्द्र खड्का
नेपाली जनताको अत्यन्तै लामो र कठिन संघर्षको प्रतिफल स्वरूप हाम्रो देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयको छ. श्रमजीवी नेपाली किसानहरु, मजदूरहरु, विद्धार्थी, महिला, युवा, आदिवाशी, जनजाती, दलित, उत्पीडित, पेशाकर्मी, संचारकर्मी र नागरिक समाज आदिको संयुक्त पहलकदमीमा १० वर्षे महान जनयुद्ध र त्यसको पृष्ठभूमिमा भयको १९ दिने संयुक्त जनआन्दोलनको मध्यम द्वारा नेपाल गणतन्त्र को नयाँ युगमा प्रवेश गर्न सफल भयको हो. जब गाउँ गाउँबाट जनता हलो-जुवा, कुटो, कोदालो, हँसिया-नाम्लो बोकेर सदरमुकामका सडकमा उत्रिए, निरंकुश सामन्ती राजतन्त्रले जनताको अगाडि घुँडा टेक्यो र आत्मसमर्पण गर्न बाध्य भयो.
परिणामतः नेपाली जनतालाई २४० वर्षदेखि अनवरत रूपमा शोषण र दमन गर्ने, नेपालको सामन्तवादलाई संरक्षण गर्ने र त्यसको नाइकेको भूमिका खेल्दै आएको शाहवंशीय राजतन्त्रको अन्त्य भयो. तर अझै पनि नेपालबाट सामन्तवादको अन्त्य भएको छैन. दलाल र नोकरशाह पुँजीवाद समाप्त भएको छैन. नेपाल औपनिवेशिक हस्तक्षेपबाट मुक्त भएको छैन. त्यसकोलागि हामीले जनवादी क्रान्ति सम्पन्न गर्नु पर्ने कार्यभार बाँकी नै छ.
हाम्रो देश नेपाल अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ. नेपाली जनता सामन्तवाद र दलाल नोकरशाही पुँजीवादको शोषण मुनि पिल्सिई रहेका छन्. आज पनि करीब ५५ लाख भन्दा धेरै जनता भूमिहीन किसान छन्. ७० लाख जनता निरपेक्ष गरीबीको रेखामुनी छन्. उनीहरुसंग बिहान बेलुकीको छाक टार्ने समस्या छ. सामन्ती उत्पादन सम्बन्धको अन्त्य भएको छैन.
वास्तविक किसानहरु जमिनका मालिक बन्न सकेका छैनन्. वास्तबिक उत्पादकहरू उत्पादनका साधनका मालिक बनेका छैनन्. देशको कूल ६५.७ प्रतिशत हिस्सा ओगट्ने किसानहरुको अत्यन्तै दयनीय अवस्था छ. महिलाहरु माथि हिंशा र सामाजिक भेदभाव छ. उत्पिडितहरु माथि गरिने जातीय छुवाछुत र भेदभाव कायमै छ. मजदूरहरुले उचित काम र सो अनुसारको ज्याला पाई रहेका छैनन्. बिरामी भए उपचार गर्न सहज छैन. निजीकरणको कारणले गर्दा स्वास्थ्य सेवा आम नेपाली जनताको पहुँच बाहिर पुगेको छ. न्याय प्रणाली त्यस्तै छ. शिक्षा अत्यन्तै महँगो भएको छ. साधारण मानिसहरुले आफ्ना छोरा छोरीहरुलाई सहजै शिक्षित दीक्षित गर्न सक्ने अवस्था छैन. शिक्षामा वर्गीय विभेद छ. व्यावसायिक र वैज्ञानिक शिक्षा छैन. युवाहरुले रोजगारी पाई रहेका छैनन्. जसले गर्दा उर्जाशील युवाहरु विदेशिन बाध्य छन्. समग्रतामा नेपाली जनता थुप्रै समस्याको जाँतो मूनी पिसिई रहेका छन्.
हामी गरीब, सर्बहारा, श्रमजीवी, किसान, मजदूर, युवा, विद्धार्थी, पेशाकर्मी सहित तमाम मेहनतकश जनतालाई संगठित गर्दै नेपालबाट संधै संधै को लागि शोसन, दमन, उत्पीडन, अन्याय, अत्याचारको अन्त्य गर्दै न्याय, समानता र स्वतन्त्रता युक्त नयाँ समाजको स्थापना गर्नको लागि कम्युनिस्ट भएका हौँ. नेपालको सन्दर्भमा जननेता कमरेड पुष्पलाल र मदन भण्डारीको कौशल नेतृत्व र मार्क्सवाद – लेनिनवाद को मार्गदर्शनमा नेपाली किसान, मजदूर र सर्बहारा वर्गको नेतृत्व गर्दै सामन्तवाद र दलाल ननोकरशाही पुन्जीवाद्लाई उन्मूलन तथा साम्राज्यवादलाई परास्त गर्दै जनवादी क्रान्ति सम्पन्न गरी जनवादी व्यबस्था स्थापना गर्ने तत्पश्चात्: समाजवाद र साम्यवादको महान अग्रगामी दिशामा अघि बढ्ने मूल लक्ष्य लिएर हामि नेकपा एमाले मा संगठित भएका थियौं.
हामीले जस्तै तमाम नपाई जनताले पनि नेकपा एमाले लाइ एक अग्रगामी, प्रगतिशील, देशभक्त र क्रान्तिकारी कम्युनिष्ट पार्टी को रूपमा चाहेका थिए. नेपालका सर्वहारा श्रमजीवी वर्गको पक्षमा वर्गीय पक्षधरता लिने पार्टीको रूपमा नेपाली जनाताले एमालेको पक्षधरता लिएका थिए. एमाले लाई समर्थन गरेका थिए. नेपाली जनताले कसैका गोठाला र खेताला भएको हुनाले एमाले भएका थिएनन्. हामी पनि कसैका भरिया बन्नलाई, गोठाला, खेताला र दास हुनको लागि एमाले भएका थिएनौं. न त केही सीमित नेताहरुले गर्ने गरेको राष्ट्रघात, नदीनाला बेचबिखन, जनघात र प्रतिक्रान्तिको सेवामा साक्षी बस्न नै एमाले भएका थियौं.
मार्क्सवाद – लेनिनवाद संसारका सर्वहारा श्रमजीवी वर्गको पथपर्दशक सिद्धान्त हो. यो वर्गाशंघर्ष र वर्गीय पक्षधरतामा आधारित वर्गीय दर्शन हो. यसैको मार्ग दर्शनमा नेपाली मौलिकता सहितको जनवादी व्यवस्था स्थापना गरी सो मार्फत समस्त नेपाली जनतालाई शोषण, दमन, अन्याय र अत्याचारबाट मुक्त गराउने उद्देश्य बोकेको ठानेर आम जनाता एमालेको झण्डा मूनी गोलबन्द भएका थिए.
एमालेले सडक, सदन र सरकार लाई वर्ग संघर्ष को सशक्त मोर्चा को रूपमा उपयोग गर्दै तिनलाई आमूल परिवर्तन को पक्षमा शक्ति संचय गराउने साधनको रूपमा प्रयोग गरोस भन्ने जनताको चाहना थियो. नेकपा एमाले लाई नेपालको जनवादी क्रान्तिको नायक बनोस भन्ने चाहेका थिए. शोषित पीडित जनताको मुक्तिदाता बनोस भन्ने चाहेका थिए. यही नै जनताको इच्छा थियो.
तर नेकपा एमालेका नेताहरुले भने जनताको चाहनामाथि पानी फेर्दै अहिले वर्ग संघर्ष, वर्गीय पक्षधरता, सर्वहारा वर्गको अधिनायकत्व जस्ता सैद्धान्तिक बिचार, जनवादी क्रान्तिको कार्यक्रम र कार्यदिशा पूर्ण रूपमा परित्याग गरेका छन्. पछिल्लो समयकालमा, विशेष गरी क. मदन भण्डारीको मृत्यु पछि, नेकपा एमाले रातो झण्डा बोकेको शिद्धन्तहीन, विचारहीन, एजेण्डा बिहीन, गन्तव्य बिहीन, यथास्थितिवादी र निम्न पूँजीवादी ढुलमूले बुर्जुवा पार्टीमा परिणत भएको छ. यथार्थमा एमाले भाइ कांग्रेसमा रूपान्तरण भएको छ.
वर्ग संघर्ष र वर्गीय पक्षधरता त्यागेकोले यो पार्टी अहिले हँसिया हथौडा बोकेको आर्को नेपाली कांग्रेस पार्टीमा परिवर्तन भएको छ. आज एमाले सुकुम्वासी माथि गोली हान्ने, भूमिसुधार आयोग बिघटन गर्ने, युवा स्वरोजगार कार्यक्रम असफल पार्ने, शान्ति प्रक्रियालाई बिथोल्न खोज्ने, युद्ध चाहने, जनताको शान्तिपूर्ण आन्दोलनमा सेना परिचालन गर्ने, राष्ट्रघात गर्ने, भ्रष्टाचार गर्ने र धान कमाउने पार्टीमा परिणत भएको छ. यी सबै काम उनले शान्ति प्रक्रिया र संविधान सभाको निर्वाचन पछि समेत गर्दै आएको छ. सर्वहारा श्रमजीवी वर्गको अग्र दस्ता बन्नु पर्ने एमाले अहिले गैरसरकारी संस्था हरु र तिनका दलालहरुको अखडामा परिणत भएको छ. एमाले अहिले जनताका एजेण्डा भन्दा ज्यादा गैर सरकारी संस्थाहरुको र तिनीहरु मार्फत दार्ती निकायका एजेण्डा बोक्ने पार्टीमा परिणत भएको छ. जनतामा आधारित भएर उनीहरुका तात्कालिक र दीर्घकालिन् समस्याहरुलाई उजागर गर्दै तिनको समाधानार्थ संघर्ष गर्नुपर्ने पार्टीलाई त्यसका पदलोलुप नेताहरुले संघर्ष कुन चराको नाम हो पत्तो नभएको पार्टीमा बदलेका छन्. कोशी, गण्डक र टनकपुर सम्झौताको विरोध गर्ने एमाले महाकाली सन्धिमा पचेको छ. राजालाई ''श्रीपेच फुकालेर चुनाब लड्न आऊ '' भन्ने मदन भण्डारी को एमाले आज राजाको पाऊमा दाम राखेर ढोग्ने र संविधान मिचेर सक्रिय रहेको निरंकुश राजा समक्ष '' प्रभु, प्रधानमन्त्री बनाईदेऊ'' भनेर बिन्तीपत्र लेख्ने पार्टीमा रूपान्तरण भएको छ. बाम एकताको बिरुद्ध उत्रेको छ. युद्ध मोही, आत्मसमर्पणवादी र वर्ग समन्वयवादी मेन्सेविक लाइनमा पतन भएको छ. एमालेले संविधानमा 'जनताको' शव्द राख्न समेत मानेको छैन, जनगणतंत्र र जनपक्षीय संविधानको विरोध गर्दैछ.
जनगणतंत्रको विरोध गर्ने एमालेको जनताको बहुदलीय जनवाद के जन बिरोधि गण तन्त्र हो? के एमाले जन बिरोधी संविधान निर्माण गर्न चाहन्छ. के हामी त्यसैको लागि एमाले भएको हो? होइन भने यो नौटंकी किन? जनतालाई सोधौँ त एमाले नेताहरु माधब नेपाल, केपि ओली, विद्द्या भण्डारी, झलनाथ खनाल, शंकर पोख्रेल, प्रदीप ज्ञवाली आदि र नेपाली कांग्रेसका नेताहरुमा के भिन्नता छ? जनतालाई हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै लाग्न थालेको छ. कांग्रेसहरु खुलेआम भन्न थालेका छन् : हामी र एमालेमा केही अन्तर छैन. कैयौं एमाले नेताहरु पनि बाम एकता भन्दा कांग्रेस संगको एकतालाई प्राथमिकतामा राखेर हेर्न थालेका छन्. आफ्नै अध्यक्ष झलनाथ खनाललाई प्राधानमन्त्री बन्न नदिन कस्सिएर लागेका त्यस्ता नेताहरु कांग्रेस नेता रामचन्द्र पौडेललाई भोट हाल्नुपर्छ भनेर खुलेआम उत्रनु भन्दा लाजमर्दो कुरा अरु केही हुन सक्छ? कैयौं मुद्दाहरुमा एमालेका खुंखार नेताहरुले भन्दा कांग्रेसका प्रदीप गिरी, नरहरि आचार्य र गगन थापा जस्ता नेताहरुले बाम पक्षधरता देखाएको कुरा प्रष्टै देखिएको छ.
पछिल्लो चरणमा हामीले बाम एकताको पक्षमा जनमत सृजना गर्ने र नेपालका दुई ठूला कम्युनिष्ट पार्टी हरुलाई एकीकरण गर्ने प्रयत्नमा कम्मर कसेर लाग्यौं. एकीकरण पश्चात यी दुइ पार्टीहरु आकारमा मात्र नभएर शुद्धिकरण मार्फत गुणात्मक ढंगले समेत सुदृढ गर्न सकिन्थ्यो. त्यसो गर्दा बामपन्थी सरकार बनाउँ, सेना समायोजन गर्न, दिगो शान्ति कायम गर्न, जनपक्षीय संविधान लेख्न र शान्तिपूर्ण तरीकाले जनवादी क्रान्ति को बाटोमा अग्रसर बन्न सकिन्थ्यो. आउँदो चुनावमा ९० प्रतिशत भन्दा बढी सीट जित्न सकिन्थ्यो. यो राष्ट्रलाई स्वाधीन र सम्पन्न बनाउँ सकिन्थ्यो. तर भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको काट्टो खान पल्केका एमाले भित्रका घुसखोर, नवसामन्त, नवधनाढ्य र विदेशी का दलाल हरुलाई त्यो कुरा सह्य भएन. उनिहरु एमाले र माओवादी एकता र सहकार्य हुन् नदिन जमेर लागे. उनिहरुले प्रतिक्रान्तिको किल्ला समाते.
त्यसपछि मलाई अनुभूति भयो की नेकपा एमाले ले बाम पक्षधरता त्याग्यो. यसले नेपालमा जनवादी क्रान्ति गर्दैन, त्यसको नेतृत्व गर्न सक्दैन. यो अब कम्युनिष्ट पार्टी रहेन. त्यसैले मैले नेकपा एमाले बाट विद्रोह गरी एकिकृत नेकपा माओवादीमा समाहित हुने र यसलाई नेपाली क्रान्तिको अग्रदस्ताको रूपमा स्थापित गर्न आफ्नो क्षमताले भ्याएसम्म सक्दो योगदान गर्ने निर्णय गरें.
मलाई लाग्छ अब एमाले भित्रका सबै क्रान्तिकारी हरुले सोच्ने बेला आएको छ. के तपाईंहरुले एमालेलाई अर्को कांग्रेसको रूपमा चाहेको हो? के तपाईंहरु बाम एकता बिरोधि हो ? के तपाईंहरु जनवादी क्रान्ति विरोधी हो? त्यसो भने त सिंगो एमाले पार्टी लाई नै हँसिया हथौडा बोकेको आर्को नेपाली कांग्रेस बनाउँ भन्दा त नेपाली कांग्रेसलाई झण्डा फेर्न लगाएर हँसिया हथौडा भएको झण्डा राख्न सल्लाह दिए पुग्थ्यो नि त? कम्युनिष्ट भएको, गरीव निमुखा हरु र सर्वहारा श्रमजीवी वर्गको पक्षमा रानीति गरेको नाटक मंचन गरिरहनु पर्ने आवश्यकता नै पर्ने थिएन. होइन र?

